त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
नुवाकोट,२४ असार . नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ। सोमबार राति नदीको बीचमा रहेको रुखमा चढेर जोखिमबाट बच्न खोजिरहेका उनीहरुलाई मंगलबार बिहान हेलिकप्टरको सहायताले सकुशल बाहिर निकालिएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अनलाइनखबरलाई जानकारी दिएअनुसार, नुवाकोटको त्रिशूली बजार नजिकैको सो स्थानमा नदीको बहाव बढेका कारण उनीहरु फसेका थिए।
उद्धार गरिएका दुवै जनालाई सुरक्षित स्थानमा राखिएको बस्नेतले बताए। उद्धार कार्यका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल गरी दुई वटा हेलिकप्टर परिचालन गरिएको थियो।
प्रवक्ता बस्नेतका अनुसार, पहिलो पटक उद्धारका लागि गएको सानो हेलिकप्टर (एक्वेरल) ले प्रतिकूल अवस्थाका कारण उद्धार गर्न नसकेपछि ठूलो एमआई १७ हेलिकप्टरको प्रयोग गरी उनीहरुलाई सफलतापूर्वक बाहिर निकालिएको हो।
