रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी कामको सिलसिलामा सम्पर्कविहीन

 

रोल्पा, २५ असार । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएपछि भुक्तानी सम्बन्धी कामको लागि रुकुम पूर्व गएका उनीहरू दुई दिनदेखि गाउँपालिकाको सम्पर्कमा नआएका हुन्।

गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, नेटवर्क समस्याका कारण कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी (OTP) कोडका लागि उनीहरू रुकुम पूर्व गएका थिए। असार २४ गते बिहान ७ बजे थबाङबाट हिँडेका उनीहरू असार २५ गतेसम्म पनि सम्पर्कमा आएका छैनन्। ‘आजै रातिसम्म भुक्तानीको समय छ, पालिकालाई समस्या परेको छ,’ बुढामगरले भने।

गाउँपालिकाले जारी गरेको सूचनामा प्रमुख प्रशासकीय अधिकृतसहित आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर (२ जना), प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालक गरी ७ जना कर्मचारी सम्पर्कविहीन रहेको उल्लेख छ। सूचनामा भनिएअनुसार, असार २४ गते बिहान ७ बजेदेखि नै उनीहरू कार्यालयको सम्पर्कमा आएका छैनन्।

गाउँपालिकाले उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र सम्पर्कका लागि मोबाइलमा फोन गर्दा सबैको मोबाइल स्विच अफ रहेको जनाएको छ। गाउँपालिकाले सम्पर्कविहीन भएका कर्मचारीहरूलाई यथाशीघ्र कार्यालयको सम्पर्कमा आउन अनुरोध गर्दै सूचना जारी गरेको छ।

सम्पर्कविहीन भएका कर्मचारीहरूमा निम्न रहेका छन्:
१) हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत
२) हरिश माझी, आर्थिक प्रशासन प्रमुख (सहायक प्रशासन पाँचौ)
३) यज्ञ प्रसाद कडेल, सह-लेखापाल
४) चन्द्र प्रकाश ओली, सव-इन्जिनियर
५) निशा आचार्य, सव-इन्जिनियर
६) शिव कुमार वली, खा.पा.स.टे.
७) प्रदिप के.सी., सवारी चालक