महाधिवेशनको निर्णयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता : महासचिव पोखरेल

 

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिले पारित गरेको विधानमाथि प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार आयोजित जनसंगठनका पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले आफैँ सहभागी भएर पारित गरिएको निर्णयको विरुद्धमा बोल्दै हिँड्नु अनुशासनहीनता भएको टिप्पणी गर्नुभयो ।

“दुवै महाधिवेशनका प्रतिनिधि भएर आफैँले अनुमोदन गरेका प्रावधानमाथि अहिले प्रश्न उठाउनु अनैतिक हो,” पोखरेलले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनबाट पारित विषयमा टिप्पणी गर्दै हिँड्नु अनुशासनहीन र अराजक गतिविधि हो, यस्ता प्रवृत्तिको सबैले प्रतिवाद गर्नुपर्छ ।”

उहाँले आगामी भदौमा हुने विधान महाधिवेशन नीति निर्माणमा केन्द्रित हुने स्पष्ट पार्दै यसलाई नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशनसँग नजोड्न आग्रह गर्नुभयो । “यो विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताको नाममा कित्ताकाट हुनु जरुरी छैन,” उहाँको भनाइ थियो, “नेताहरूले नीति र नेतृत्व निर्माणको भिन्नता बुझ्नुपर्छ ।”

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि नै पार्टी र नेतृत्वविरुद्ध निरन्तर आक्रमण भइरहेको बताउनुभयो । एमाले सरकारमा रहेको मन नपराउनेहरूले विभिन्न लाञ्छना लगाउँदै हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाउने गरेको उहाँले आरोप लगाउनुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले जनसंगठनका महाधिवेशनबाट पारित दस्तावेजहरू एक साताभित्र केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिनुभयो । भेलामा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य विष्णु रिजाल र रचना खड्का लगायतका नेताहरूले पनि पार्टीको विधि-विधानको पालना गर्न र निर्णयको विरुद्धमा नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *