प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तरदेखि विधेयक पेस गर्नेसम्मको कार्यसूची
काठमाडौँ, ३० असार । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ, जसमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरदेखि विधेयक प्रस्तुतिसम्मका विषयहरू समावेश छन्।
कार्यसूचीअनुसार, बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ।
त्यसपछि, विभिन्न ५ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।
प्रश्नोत्तर हुने मन्त्रालयहरूमा: सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय छन् ।
त्यस्तै, बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।