जङ्गली च्याउ खाँदा कञ्चनपुरमा एकै परिवारका पाँच जना बिरामी

कञ्चनपुर, ३१ असार । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा जङ्गली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । भारतको जङ्गलबाट ल्याइएको विषालु च्याउ सेवन गर्दा उनीहरु अस्वस्थ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, दोधारा–चाँदनी–६ कालागडका ६३ वर्षीय कालु सुनार र उनका चार नातिनातिना बिरामी परेका हुन् ।

बिरामी हुनेमा १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सु सुनार रहेका छन् ।

च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएका उनीहरु पाँचै जनाको हाल दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।