बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद बिक्री खुला, प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिने
काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ताको अनुपातमा (१:१) हकप्रद जारी गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। यसअनुसार कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद जारी भएको हो।
हकप्रद निष्काशनको प्रयोजनका लागि कम्पनीले गत जेठ २२ गते बुकक्लोज गरिसकेको छ। तसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन्। लगानीकर्ताले उक्त हकप्रदमा साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएससीको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
हकप्रद निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
हाल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि उक्त पूँजी बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रदबाट संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ बाढीले क्षतिग्रस्त ‘हेवाखोला जलविद्युत आयोजना’ को पुनर्निर्माणमा र बाँकी ५२ करोड रुपैयाँ ‘जलशक्ति हाइड्रो कम्पनी प्रा.लि.’ मा लगानी तथा अधिग्रहणका लागि उपयोग गरिने जनाएको छ।