विपद् जोखिमले विपी राजमार्गमा एक महिना रात्रिकालीन सवारी बन्द
काभ्रेपलाञ्चोक, ३१ असार । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले साउन १ गतेदेखि लागू हुने गरी एक महिनाका लागि यो निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयअनुसार, काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्मको सडकखण्डमा हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) यातायात पूर्ण रूपमा बन्द रहनेछ ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार, काठमाडौँबाट पूर्वतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र राजधानी भित्रिने सवारीलाई नेपालथोकमा नै रोकिनेछ ।
गत वर्षको बाढीपहिरोले राजमार्गको विभिन्न स्थानमा क्षति पुर्याएकाले यस्तो सावधानी अपनाइएको हो । विशेषगरी चौकीडाँडादेखि बर्खेखोलासम्मको खण्डमा सडक नै बगाएपछि बनाइएको अस्थायी संरचना वर्षायाममा थप जोखिमपूर्ण हुने भएकाले यो निर्णय लिइएको हो । यसअघि असार महिनामा पनि रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
पूर्वी नेपाल जोड्ने यो छोटो दूरीको राजमार्गमा दैनिक सयौँ सवारी साधन आवतजावत गर्दछन् । डिभिजन सडक कार्यालय, भक्तपुरले क्षतिग्रस्त खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
