कानुन निर्माणमा ढिलासुस्तीप्रति राष्ट्रपति पौडेलको गहिरो चिन्ता, ‘यसले राष्ट्रिय आकाङ्क्षामा अवरोध गर्छ’
काठमाडौँ, ३२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले अत्यावश्यक ऐन, कानुन निर्माणमा भइरहेको ढिलाइले राष्ट्रिय लक्ष्य प्राप्तिमा बाधा पुर्याएको भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा संसदीय मामिला पत्रकारहरूसँगको भेटघाटमा उहाँले संसदीय प्रक्रियालाई जनमुखी बनाउन र जनताको भरोसा जित्न दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले संसद्मा देखिने ‘डेडलक’ (गतिरोध) को अवस्था अन्त्य गर्न आवश्यक छलफल, सहमति र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। “यसले मात्र संसदीय गतिविधिलाई जनमुखी बनाउँछ र संसद्प्रति जनताको विश्वास बढाउँछ,” उहाँले भन्नुभयो।
नेपालमा अझै पनि प्रजातान्त्रिक अभ्यासको कमी रहेको औंल्याउँदै राष्ट्रपति पौडेलले लोकतान्त्रिक पद्धति नै सर्वोत्तम विकल्प भएकाले यसलाई बलियो बनाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
उहाँले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरेर ऐन, कानुन निर्माण प्रक्रियालाई थप सहज, पारदर्शी र जवाफदेही बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। संसदीय अभ्यासलाई प्रभावकारी बनाउन पत्रकारहरूको निरन्तर खबरदारीसहितको सहकार्यमा उहाँले विश्वास व्यक्त गर्नुभयो।