आमपानी झरना बन्दै आकर्षक पर्यटकीय गन्तव्य
घोडाघोडी, १ साउन । लम्की बजारदेखि सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा अवस्थित आमपानी झरना आन्तरिक पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बनेको छ। मोहन्याल गाउँपालिका-७ स्थित बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित निर्माण भएपछि पर्यटकहरूको रोजाइमा परेको हो।
कोरोनाकालमा बढ्यो लोकप्रियता
आमपानी क्षेत्र यसअघि पनि गर्मी छल्न स्थानीय र वरपरका जिल्लाका बासिन्दाहरूका लागि रमणीयस्थलका रूपमा परिचित थियो। कोरोना महामारीको समयमा आवतजावत सीमित हुँदा पनि यहाँ आन्तरिक पर्यटकको चाप बाक्लो देखिएको थियो।
बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाहीका अनुसार, “यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीहरूका लागि लोकप्रिय थियो। झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ।”
४० लाख बजेट विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो। राजमार्गदेखि नजिकैको शान्त वातावरणमा रहेकाले क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहोराले बताए।
उनले भने, “पहिले पनि यहाँको विकासका लागि हामीले थोरै भए पनि लगानी गरेका थियौँ। हाल रु ४० लाख खर्चेर झरनाको व्यवस्थापन गरेका छौँ। अब यसको संरक्षण र सदुपयोग गर्न जरुरी छ।”
निर्माण कार्य र सुविधाहरू
सामुदायिक वनमा रहेको खोलामा झरना निर्माण कार्यका लागि सामुदायिक वनकै अध्यक्ष केशबहादुर रावलको अध्यक्षतामा निर्माण समिति बनाइएको थियो। झरना क्षेत्रमा नुहाउन र पिकनिक गर्न मिल्ने पूर्वाधार विकासका साथै खोलाको व्यवस्थापन गरी झरनामा निरन्तर पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ।
झरनाको पानी सञ्चित गर्न ट्याङ्की, नुहाउने ठाउँ, ड्रेसिङ रुम, शौचालय र पदमार्ग बनाइएको इकाइ प्रमुख बोहोराले जानकारी दिए।
बढ्दो पर्यटक सङ्ख्या
सामुदायिक वनका सचिव शाहीका अनुसार, हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्। अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक आउने गरेका छन्। कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि यहाँ आउने गरेको उनले बताए।
फोहर व्यवस्थापनको चुनौती
झरना निर्माणपछि पर्यटकहरूको सङ्ख्या बढे पनि समस्या पनि बढेको सचिव शाहीले बताए। “आमपानी क्षेत्रमा पहिलेदेखि नै सरसफाइको समस्या थियो। झरना निर्माणपछि पर्यटक बढिरहेका छन्। कतिपय पर्यटकले सिसाको बोतल, प्लास्टिकका बोतललगायत फोहर जताततै फालिदिने गरेकाले थप समस्या भएको छ।”
उनले थपे, “फोहर फाल्नका लागि बनाइएका डस्टबिन पनि राखेका थियौँ, तिनको प्रयोगमा पनि बेवास्ता भइरहेको छ।”
टिकट प्रणाली लागू गरिने
सामुदायिक वनले सो क्षेत्रलाई व्यवस्थित गर्ने र फोहर व्यवस्थापनका लागि टिकट प्रणाली लागू गरिने जनाइएको छ। “चाँडै नै गाउँपालिकालगायत सरोकार भएकाहरूसँग छलफल गरी न्यूनतम शुल्कमा टिकटको व्यवस्था गर्नेछौँ। यसले आम्दानीका साथै पर्यटकको सुरक्षा र जवाफदेहिताका लागि पनि सहयोग पुग्नेछ,” सचिव शाहीले भने।
भविष्यको योजना
झरना सञ्चालनबाट उठेको आम्दानी सामुदायिक वनको कोषमा जाने हुँदा त्यसले वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारी सिर्जनामा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
छोटो घुमघाम गन्तव्य खोज्नेहरूका लागि आमपानी झरना नयाँ आशा बनेको स्थानीयवासीहरूले बताएका छन्।