रसुवागढी–स्याफ्रुबेसी सडक शुक्रबारसम्म खुल्ने सम्भावना

काठमाडौं, १ साउन। गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड खुलाउने प्रयास तीव्र पारिएको छ।

सडक विभागले मौसमले साथ दिए शुक्रबारसम्म सवारी आवतजावतका लागि सडक खुलाउने लक्ष्यसहित मर्मतको काम गरिरहेको छ।

चीनतर्फबाट आएको हिमबाढीले क्षति पुर्‍याएको १६ किलोमिटर सडकखण्डमध्ये लिङलिङ क्षेत्रको पहिरो सबैभन्दा चुनौतीपूर्ण बनेको छ।

सडक आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार, उक्त स्थानमा चट्टान काट्ने (रक कटिङ) काम भइरहेको छ। “लिङलिङको पहिरो निकै अप्ठ्यारो ठाउँमा छ, तर त्यसलाई छिचोल्न सकेमा यातायात सञ्चालन गर्न सकिन्छ,” श्रेष्ठले भने। मर्मतका लागि ब्रेकर र बकेटसहित चारवटा मेसिन परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *