‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ : प्रधानमन्त्री ओली
काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने राष्ट्रिय सङ्कल्पप्रति सरकार दृढ रहेको बताउँदै कुनै पनि तहका सार्वजनिक पदाधिकारी कानुनी दायराभन्दा बाहिर नरहेको स्पष्ट पार्नुभएको छ।
प्रतिनिधिसभामा बुधबार भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सोध्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो।
“तीनवटै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायराभन्दा बाहिर छैनन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कहीँकतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुनबमोजिम कारबाही भइरहेको छ र भविष्यमा पनि दृढतापूर्वक हुनेछ।”
उहाँले भ्रष्टाचार नियन्त्रणका विषयमा सरकार पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि प्रकारको आर्थिक अनियमिततामाथि कानुनअनुसार कारबाही हुने कुरामा सबैलाई आश्वस्त पार्नुभयो।