गुठी व्यवस्थापनले ठेक्का टाेडेसगै भैरव मन्दिरको आम्दानी तीन गुणाले बढ्यो
बागलुङ, ११ साउन । बागलुङको प्रसिद्ध कालभैरव मन्दिरको व्यवस्थापन ठेक्का प्रणालीबाट गुठी समितिले आफ्नो हातमा लिएपछि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।
सरकारद्वारा सय पर्यटकीय गन्तव्यमा सूचीकृत यस शक्तिपीठमा गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै पूर्वाधार निर्माणले गति लिएको र भेटी सङ्कलन तीन गुणाले बढेको हो।
छ वर्षको अन्तरालपछि २०७९ सालमा सक्रिय भएको भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरको व्यवस्थापन सिधै आफ्नो मातहतमा ल्याएको थियो। यसअघि मालपोत कार्यालयले ठेक्कामार्फत भेटी सङ्कलन गराउँदा आर्थिक वर्ष २०८०/८१ मा नौ लाख रुपैयाँ आम्दानी भएको थियो। तर, गत आर्थिक वर्षमा गुठीले आफैँ व्यवस्थापन गर्दा यो रकम बढेर २७ लाख रुपैयाँ पुगेको हाे।
“ठेकेदारको नाफामा सीमित हुनुभन्दा मन्दिरकै विकासमा लगानी गर्ने हाम्रो लक्ष्य हो,” समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले भन्नुभयो, “कोरोना महामारीका बेला ५० हजारमा सीमित भएको भेटी सङ्कलन अहिले २७ लाख पुग्नु ठूलो उपलब्धि हो।”
पछिल्लो दुई वर्षमा मन्दिरको भौतिक पूर्वाधारमा करिब ८० लाख रुपैयाँभन्दा बढी लगानी भएको छ। सङ्घीय सरकार, गण्डकी प्रदेश, बागलुङ नगरपालिका र समितिको आन्तरिक स्रोतबाट सत्तल, सचिवालय, आकर्षक प्रवेशद्वार, पदमार्ग, खानेपानी र शौचालय जस्ता महत्त्वपूर्ण संरचनाहरू निर्माण गरिएका छन्। समितिका कोषाध्यक्ष चन्द्र केसीका अनुसार, नयाँ समितिले आय-व्ययलाई पारदर्शी बनाउन सार्वजनिक परीक्षण र लेखापरीक्षण गराउँदै आएको छ।
आम्दानीको दिगो स्रोत सुनिश्चित गर्न समितिले ११ वटा व्यावसायिक सटर निर्माण गरी मासिक ३० हजार रुपैयाँ भाडामा लगाएको छ।
तीन सय वर्षभन्दा पुरानो इतिहास बोकेको यो मन्दिरमा सडक सञ्जालले जोडिएपछि धार्मिक पर्यटकको आगमन बढेको छ। सुविधाहरू थपिँदै जाँदा दर्शनार्थीको चाप बढेको र त्यसले भेटी सङ्कलनमा सकारात्मक प्रभाव पारेको अध्यक्ष ढकाल बताउनुहुन्छ।
जनविश्वासअनुसार, विसं १७८० तिर पाल्पाबाट ल्याएर कालभैरवलाई यहाँ स्थापना गरिएको हो। मनोकांक्षा पूरा हुने विश्वासले यहाँ मंगलबार, शनिबार तथा दसैँ र चैतेदसैँमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ।
