प्रचण्डविरूद्ध जनार्दनको आक्रोश– माथिल्लो तहबाटै पार्टी फुट्छ भन्ने भ्रमको खेती भएको छ

 

काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको वाक्युद्ध थप चर्किएको छ। अध्यक्ष प्रचण्डविरुद्ध केही समयदेखि आक्रामक देखिएका शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत ‘माथिल्लो तहबाटै पार्टी फुट्ने भ्रमको खेती भइरहेको’ भन्दै आक्रोश पोखेका छन्।

केही दिनअघि शर्माले मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्रीले अवैध असुली गरेको भन्दै अध्यक्ष प्रचण्डप्रति निशाना साँधेका थिए। उनले पार्टीमा निरंकुशता हाबी भएको समेत टिप्पणी गरेका थिए।

त्यसको जवाफमा प्रचण्डले शर्माको नाम नलिई ‘दलाल र प्रतिक्रियावादीको उक्साहटमा पार्टीविरोधी गतिविधि भएको’ र आफूले ‘प्रशस्त सिंगौरी खेल्न दिएको’ भन्दै निरंकुशताको आरोपको खण्डन गरेका थिए।

अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तपछि मौन रहेका शर्माले मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले माथिल्लो तहबाटै पार्टी विभाजनको प्रचार भइरहेको आरोप लगाएका छन्।

“विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भनेर गरिएको प्रचारलाई यति बेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्छु,” शर्माले लेखेका छन्, “पार्टीबारे उठेका भ्रम र तथ्यहरू गहिरो गरी बुझ्न आग्रह गर्छु।”

उनले पार्टीलाई व्यक्ति केन्द्रित विवादबाट निकालेर एजेन्डा केन्द्रित बहसमा लैजान आग्रह गरेका छन्। गत वर्ष नै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय भएको स्मरण गराउँदै उनले भने, “अब पार्टीमा एजेन्डा केन्द्रित बहस गरौं। यसले पार्टी पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।”

शर्माले देश गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसको समाधानका लागि तीनबुँदे प्रस्ताव अघि सारेका छन्: संविधान संशोधन, अर्थतन्त्र पुनर्संरचना र पार्टी पुनर्गठन।

उनका अनुसार, अर्थतन्त्र पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रको जग बसाल्नेछ भने संविधान संशोधनले शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानका मुद्दालाई सम्बोधन गर्नेछ।

त्यसैगरी, विशेष महाधिवेशनमार्फत पार्टीभित्रको वैचारिक अस्पष्टता, सांगठनिक अराजकता र विधिहीनता अन्त्य गर्दै नयाँ पुस्ताको भावना समेट्ने गरी पार्टी पुनर्गठन गर्नुपर्ने उनको प्रस्ताव छ। उनले देशमा बढ्दो कुशासन, भ्रष्टाचार र जनसरोकारका विषयमा देखिएको बेवास्तालाई चिर्न यस्ता ठोस कदम आवश्यक रहेकोमा जोड दिएका छन्।