देशभर मनसुन सक्रिय, केही स्थानमा मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १५ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिमसहित पहाडी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही तराई भेगमा आंशिक बदली हुनेछ। मधेस र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम बढ्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने र ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसबाहेक, अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सम्बन्धित सबै निकायमा समेत अनुरोध गरिएको छ।