भक्तपुरको सुडालमा बस दुर्घटना: तीर्थयात्रामा हिँडेका ६ जना घाइते
भक्तपुर, १९ साउन। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा आज (सोमबार) बिहान एक यात्रुवाहक बस दुर्घटना भएको छ।
नुवाकोटको दुप्चेश्वरतर्फ तीर्थयात्राका लागि जान तयार रहेको बस ओरालोमा आफैँ गुडेर पल्टिँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार, बागमती प्रदेश ०१-००६ ख ५९२९ नम्बरको बसमा सवार करिब ३० जनामध्ये ६ जना घाइते भएका छन्। घाइतेहरूको भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
स्थानीय तथा बसका यात्रु शान्ताराम दुलालका अनुसार, ओरालोमा रोकेर राखिएको बस एक्कासी आफैँ गुड्न थालेपछि सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो। उक्त बस साउने सोमबारको अवसरमा दुप्चेश्वर महादेवको दर्शनका लागि तीर्थयात्री लिएर जान लागेको थियो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।