विद्यालय शिक्षा विधेयक: व्यवस्थापन समिति र अभिभावक संघ कायमै रहने, शिक्षक बढुवामा तीन विकल्प प्रस्ताव
काठमाडौं, २२ साउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल पुनः सुरु भएको छ।
बिहीबार बसेको बैठकमा विद्यालय व्यवस्थापन समिति (विव्यस) र अभिभावक संघलाई कायमै राख्ने सहमति जुटेको छ।
विधेयकमाथि छलफलका क्रममा हटाइएको व्यवस्थापन समिति र अभिभावक संघलाई पुनः राख्न परामर्श उपसमितिले सहमति जुटाएको हो। उक्त सहमतिको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले बिहीबारको समिति बैठकमा प्रस्तुत गर्नुभएको हो।
यसैगरी, परामर्श उपसमितिले शिक्षक बढुवाका लागि तीनवटा प्रस्ताव अघि सारेको छ। जसमा कार्यक्षमता मूल्यांकन, ज्येष्ठता र आन्तरिक प्रतियोगिताका आधारमा बढुवा गर्ने विकल्पहरू छन्। समितिमा यी प्रस्तावहरूमाथि थप छलफल हुनेछ।