दार्चुलामा स्यालको टोकाइबाट तीन घाइते
दार्चुला, २६ साउन । दार्चुलाको व्याँस गाउँपालिकामा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन्।
जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नहुँदा उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको छ।
घाइते हुनेमा व्याँस गाउँपालिका–६, बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी रहेका छन्। स्थानीयका अनुसार, आइतबार साँझ उनीहरू घरनजिकै घाँस काटिरहेका बेला स्यालले आक्रमण गरेको थियो।
जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार, घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याइएको थियो। तर, अस्पतालमा रेबिजविरुद्धको अत्यावश्यक खोप नभएका कारण उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गर्नुपरेको हो।