तत्काल गर्न सकिने अनुगमनको काम आजै थाल्न उपप्रमुख डंगोलको निर्देशन
काठमाडौं ३ भदौ । बजार अनुगमनलाई निरन्तरता दिन आफूसँग उपलब्ध जनशक्ति, स्रोत र साधनको उच्चतम उपयोग गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले निर्देशन दिनुभएको छ । आज उहाँको कार्यकक्षमा बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको वैठकमा उहाँले गएको वर्ष भएको अनुगमनको समीक्षा गर्दै यस वर्ष नियमित अनुगमन गर्न निर्देशन दिनुभएको हो ।
‘सुपथ मूल्यमा सहज प्रणालीबाट गुणस्तरीय सामान प्राप्त गर्न पाउने उपभोक्ताहरुको अधिकार प्रत्याभूत गराउनु हाम्रो दायित्व हो । उपभोक्ताको अधिकार प्रत्याभूत गराउन स्वच्छ व्यापारिक क्रियाकलाप, सामानको उत्पादन, ढुवानी तथा भण्डारण प्रणालीलाई स्वच्छ बनाउन प्रेरित गर्नुपर्छ ।’ डंगोलले भन्नुभयो, ‘नराम्रो कुराको मात्र चर्चा नगरौँ । राम्रा कामको कुरा गरौँ । यसले गर्दा असल अभ्यास प्रवर्धन हुन्छन् ।’
सुधार गराउन सकिने व्यापारिक क्रियाकलापलाई सुधारको मौका दिने, जनस्वास्थ्य र उपभोक्ताको हितमा प्रत्यक्ष नकारात्मक असर हुने क्रियाकलाप गर्नेमाथि कारवाही गर्ने न्यूनतम आचरण हुन् । डंगोलले, सर्वसाधारण र व्यवसायी दुवै पक्षलाई सचेत गराउँदै लगिने बताउनुभयो ।
रैथाने खाद्य सेवामा आवद्ध व्यवसायीलाई पसलमा गएर सचेत गराउनु पर्ने, स्वच्छता र सरसफाइका लागि प्रेरित गर्नु पर्ने समितिका सदस्य एवं वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले धारणा राख्नुभयो ।
गएको वर्ष ४९७ वटा खाद्यान्न पसलहरुको अनुगमन भएको थियो । यसमा ४३८ वटा किराना पसल, १८ वटा मिठाइ पसल, १९ वटा ड्राइ फुड पसल, ७ वटा मसला पसल र १५ वटा दूध तथा दूधजन्य पदार्थको अनुगमन भएको थियो । यस्तै १२७ वटा पानी बोक्ने गाडीहरुमा ढुवानी भइरहेका जारहरुको अनुगमन गरिएको थियो । यसमध्ये कुच्चिएका, फुटेका, स्टिकर नराखिएका अपारदर्शी ४३५ वटा जारहरु भेटिएका थिए । यसरी अनधिकृत पानीको व्यापार गर्ने १० वटा कम्पनीलाई जरिवानाका लागि पत्र पठाइएको थियो ।
कल सेन्टरमा २०२ वटा गुनासा आएका थिए । यीमध्ये १८४ वटाको सुनुवाई भइसकेको छ । समितिका सदस्य सचिव नुरनिधि न्यौपानेका अनुसार १०८ वटा भोजनालय तथा खाजा घरको अनुगमन गर्दा अधिकांशमा सरसफाइ र स्वच्छतामा कमजोरी देखिएको थियो ।
बैठकमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग वाणिज्य महासंघ, उपभोक्ता अधिकारकर्मीसहित पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
