संकटमा कैलालीको ऐतिहासिक राजी ताल : संरक्षणको अभाव

काठमाडौँ, ६ भदौ । कैलालीको गोदावरी नगरपालिका, वडा नम्बर ४, चुरे पर्वत क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको राजी ताल संरक्षणको अभावमा पुरिँदै गएको छ । वर्षायाममा चुरेबाट बगेर आउने माटो, बालुवा र पातपतिङ्गरका कारण तालको अस्तित्व संकटमा परेको हो ।

करिब चार हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमी साउँदका अनुसार, यो ताल नजिकै रहेको खारपानी मन्दिरको पानीको मुख्य रिचार्ज स्रोत पनि हो । “चुरे क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावना बोकेको यो ताल हरेक वर्ष पुरिँदै गएको छ,” साउँदले भन्नुभयो, “तत्काल संरक्षणका कार्यक्रम अगाडि नबढाए ताल लोप हुने जोखिम छ ।” उहाँले बताउनुभयो ।

यो ताल चुरे क्षेत्रका वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीका लागि जलक्रीडा गर्ने महत्वपूर्ण स्थल पनि हो ।

ताल संरक्षणका लागि मष्टाधाम व्यवस्थापन समितिले संघीय सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । बाह्रै महिना पानीको सतह कायम राख्न काला खोलाबाट पानी ल्याउने योजना भए पनि त्यसका लागि बजेट सुनिश्चित हुन सकेको छैन ।

यसैबीच, प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ, धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले पनि राजी तालको संरक्षण अपरिहार्य रहेको बताउनुभएको छ । ताल संरक्षणको मुख्य जिम्मा डिभिजन वन कार्यालयको भए पनि पर्यटन पूर्वाधार निर्माणमा आफ्नो कार्यालयले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “तालको संरक्षण भएपछि यसको वरिपरि पर्यटकीय पदमार्ग, पिकनिक स्थल र उद्यान निर्माणका काम अघि बढाउन सकिन्छ,” बोहराले भन्नुभयो ।

यो तालसँग एक रोचक किंवदन्ती पनि जोडिएको छ । स्थानीय विश्वासअनुसार, ग्वासी समैजी र मोहन्याल देवताबीच स्थानको विषयलाई लिएर विवाद हुँदा मष्टा देवताले आएर दुवैबीच मेलमिलाप गराएको र यही स्थानमा बसेको भन्ने जनश्रुति छ ।