पहिरोले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो, कान्ति लोकपथमा अझै समस्या
काठमाडौँ, भदौ ७ । पहिरोका कारण गए रातिदेखि अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बागझुरामा गिट्टी र बालुवासहितको लेदो खसेर रोकिएको यातायात आज बिहानदेखि पूर्ण रूपमा सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा आएको हो । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सवारीसाधनहरू गन्तव्यतर्फ लाग्न थालिसकेको जानकारी दिनुभयो ।
यसैबीच, हेटौँडालाई काठमाडौँसँग जोड्ने अर्को वैकल्पिक मार्ग, कान्ति लोकपथ भने अझै अवरुद्ध छ । भीमफेदी गाउँपालिका–८ स्थित भर्याङडाँडामा वर्षासँगै खसेको ढुङ्गा माटोसहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो ।
पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको र छिट्टै सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । दुईमध्ये एक प्रमुख मार्ग सञ्चालनमा आएपछि यात्रुहरूलाई केही राहत मिलेको छ ।
