नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यातायात दुईतर्फी अवरुद्ध

काठमाडौँ, ७ भदौ ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात फेरि अवरुद्ध भएको छ । आज बिहान करिब ६:३५ बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा पूर्ण बन्द भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो खस्नेबित्तिकै प्रहरीको विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरी निरीक्षक प्रतीक सिंहले पहिरो पन्छाउनका लागि स्काभेटरको प्रयोग गरी काम सुरु गरिएको जानकारी दिनुभयो ।

बिहानै पहिरो खसेकाले गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको यो सडकखण्ड यात्रुहरूका लागि सधैँ जोखिमपूर्ण र अनिश्चित बन्ने गरेको छ ।