कागेश्वरी मनोहरामा पहिरोले ४ कोठे घरमा क्षति

काठमाडौँ, ७ भदौ । गए राती परेको अविरल बर्षाले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा ४ कोठाको एक तले घरमा क्षति पुगेको छ । शनिबार विहान साढे १ बजे सुवेदी गाउँ रामजानकी मन्दिर नजिक रहेको घरमा क्षति भएको हो ।

काभ्रेपलाञ्चोक नवबुद्ध नगरपालिका वडा नं २ का बलराम अधिकारीले बनाएको घरमा क्षति भएको गागलफेदीका प्रहरी नायव निरीक्षक रेवन्त गिरीले जानकारी दिनुभयो । घटनाका बारेमा जानकारी आएपछि गिरीको कमाण्डमा उद्धार तथा व्यवस्थापनका लागि प्रहरी खटिएको थियो ।

घटनामा मानवीय क्षति भएको छैन । घरका २ वटा कोठा माटोले पुरै भरिएका छन् । यसमा कति क्षति भयो? विवरण प्राप्त भएको छैन । माटो व्यवस्थापन गर्न नेपाली सेना र सशस्त्र प्रहरी बलबाट १५÷१५ जना र नेपाल प्रहरीबाट ३ जना सुरक्षाकर्मी खटिएका छन् ।