स्याङ्जाको वालिङमा एक युवकको हत्या, दुई जना पक्राउ

स्याङ्जा, ८ भदौ। स्याङ्जाको वालिङमा कुटपिटबाट एक युवकको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार मृतक वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापा हुन्। शनिबार राति करिब ११ बजे भएको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गर्‍यो।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेमा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही छन्।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको र पक्राउ परेकाहरुमाथि थप सोधपुछ भइरहेको जनाएको छ।