बेथानचोकका गृहिणी महिलाहरूको सिपले बजार पायो : ‘कोसेली-घर’ सञ्चालनमा

काठमाडौँ, भदौ ९ । बेथानचोक गाउँपालिकाका स्थानीय महिला उद्यमीहरूको मुहारमा खुसी छाएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा ‘कोसेली-घर’ सञ्चालनमा आएसँगै उनीहरूले उत्पादन गरेका सामग्रीले अब व्यवस्थित बजार पाउने भएको छ ।

आइतबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले एक कार्यक्रमका बीच उक्त कोसेली-घरको उद्घाटन गर्नुभयो । यो कोसेली-घर “गृहिणी महिला सशक्तिकरण कार्यक्रम” अन्तर्गत स्थापना गरिएको हो, जसको मुख्य उद्देश्य महिलाहरूलाई उद्यमशीलतासँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउनु हो ।

कार्यक्रममा बोल्दै मन्त्री बादेले महिलाहरूको उद्यमशीलता विकास र आर्थिक समृद्धिमा कोसेली-घर एक प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्पादित सामग्रीको बजार व्यवस्थापनका लागि प्रदेश सरकारले गाउँपालिकासँग समन्वय गरेर थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

प्रदेश र स्थानीय सरकारको संयुक्त लगानी

कोसेली-घर सञ्चालनका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १८ लाख २१ हजार २८५ रुपियाँ लगानी गरेको छ भने बेथानचोक गाउँपालिकाले त्यति नै रकम अर्थात् ५० प्रतिशत लागत साझेदारी गरेको छ । कुल ३६ लाख ४२ हजार ५७० रुपियाँ लागतमा यो महत्वपूर्ण पहलकदमी सुरु भएको हो । यस कार्यक्रममार्फत गाउँपालिकाका हरेक वडामा उद्यमशीलता तालिम दिने, बीउ पुँजी वितरण गर्ने र महिला उद्यमीले उत्पादन गरेका सामग्री खरिद गरी बजारीकरण गर्ने लक्ष्य लिइएको छ ।

११० महिला सिपसँग जोडिँदै

गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार यस कार्यक्रम अन्तर्गत हालसम्म ११० जना गृहिणी महिलाले विभिन्न सीपमूलक तालिम प्राप्त गरिसकेका छन् ।उनीहरूलाई संगठित गर्दै दुईवटा महिला उद्यमी समूह गठन गरी प्रतिसमूह  १ लाख रुपियाँका दरले बीउ पुँजीसमेत उपलब्ध गराइएको छ ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “हाम्रो उद्देश्य गृहिणी महिलालाई उद्यमसँग जोड्दै आर्थिक रूपमा सशक्त बनाउनु हो । यो कोसेली-घर उहाँहरूको सीप र सिर्जनालाई बजारसम्म पुर्‍याउने माध्यम हो ।”

कोसेली-घरमा के-के पाइन्छ ?

तालिमप्राप्त महिलाहरूले उत्पादन गरेका विभिन्न स्थानीय सामग्रीहरू कोसेली-घरमा बिक्रीका लागि राखिएका छन् । कोसेली घरमा स्थानीयले उत्पादन गरेका कोलिन, सरफ, डल्लो तथा झोल साबुन, रैथाने पीठो, सर्वोत्तम लिटो, सातु र स्याउ, दुनाटपरी, चकटी, बाँसको चोया र खोस्टाबाट बनेका सामग्री, मखमलको जुत्ता, चप्पल र थैली, बाटेको धूप, सिलाइकटाईबाट उत्पादित कपडाहरू पाइन्छन् ।  

यो कार्यक्रम काभ्रेपलाञ्चोकसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका ४० वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ, जसले प्रदेशभरका महिलाहरूको सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।