तनहुँमा ‘भानु साहित्य उद्यान’को निर्माण हुने

काठमाडौँ, भदौ ९ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण हुने भएको छ । आचार्यको स्मृति दिवसको अवसरमा पारेर आगामी ६ गते राष्ट्रिपतिले उद्यानको शिलान्यास गर्नुहुनेछ ।

सोमबार राष्ट्रपति पौडेलको उपस्थितिमा सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारी बिच भएको छलफलपछि निर्माण कार्य शुभारम्भ गर्ने निर्णय भएको हो । भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यले राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको विश्वव्यापी तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ गुरुयोजना निर्माण भइरहेको जानकारी दिए ।

गुरुयोजना अनुसार, उद्यानभित्र सातै प्रदेशका प्रसिद्ध धामहरू झल्किने संरचनाहरू निर्माण गरिनेछ । साथै, विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरूका सालिक पनि स्थापना गरिने योजना छ । यस बृहत् परियोजनामा भानुभक्तको विशाल प्रतिमा, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, साहित्यिक पदमार्ग, र भानु प्रज्ञा भवन जस्ता संरचनाहरू निर्माण गरिनेछन् ।

सरकारले ‘भानु साहित्य उद्यान’ निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस परियोजनाले आदिकविको जन्मस्थललाई साहित्यिक र सांस्कृतिक पर्यटनको एक महत्वपूर्ण केन्द्रको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *