तमोर नदीमा टिपर खस्दा एकजना बेपत्ता, खोजी कार्य जारी

काठमाडौँ, भदौ ९ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित तमोर नदीमा आज दिउँसो टिपर पल्टिँदा एकजना बेपत्ता भएका छन् । तमोर करिडोर सडकखण्डमा निर्माणाधीन ‘तमोर–५ हाइड्रोपावर’ को ग १ क ६३१८ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार, मर्मतपछि परीक्षण गर्ने क्रममा टिपर अनियन्त्रित भई सडकबाट तमोर नदीमा खसेको थियो । दुर्घटनामा परी हाइड्रोपावरमा मेकानिकको रूपमा कार्यरत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी अन्दाजी २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो । प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार टिपर नदीमा डुबेको अवस्थामा भेटिएको छ भने बेपत्ता सुवेदीको खोजी कार्य जारी राखिएको छ ।