एकै वर्षमा पर्वतका १९ सय घरमा खानेपानीका धारा जोडिए

काठमाडौँ, भदौ ९ । पर्वत जिल्लामा ‘एक घर एक धारा’ अभियानले गति लिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै जिल्लाका विभिन्न स्थानमा गरी एक हजार नौ सय घरधुरीमा नयाँ खानेपानीका धारा जडान गरिएको छ । योसँगै जिल्लामा स्वच्छ खानेपानीको पहुँच पुग्ने घरधुरीको सङ्ख्या १८ हजार २०० पुगेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतका अनुसार, सङ्घीय र प्रदेश सरकारको लगानीमा सञ्चालित विभिन्न आयोजनामार्फत यो सफलता हासिल भएको हो । विगतमा खोला, कुवा र पँधेराको पानीमा निर्भर रहेका नागरिकहरू घर-आँगनमै धारा जडान भएपछि हर्षित भएका छन् । यसमा सङ्घीय सशर्त अनुदानतर्फका १८ वटा आयोजनाबाट ५५४ घरधुरीमा धारा जडान गरिएको छ । प्रदेश सरकारको लगानीमा सञ्चालित ७४ वटा आयोजना सम्पन्न हुँदा सबैभन्दा धेरै १,२४२ घरधुरी लाभान्वित भएका छन् ।

पुनःस्थापना कार्यक्रम: पुराना र जीर्ण आयोजना मर्मत गर्ने पुनःस्थापना कार्यक्रमअन्तर्गत १८ आयोजना सम्पन्न गरी थप ९६ घरधुरीमा खानेपानी पुर्‍याइएको छ ।

कार्यालयका प्रमुख किरण पौडेलका अनुसार, गत आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त कुल १५ करोड ६ लाख बजेटमध्ये १४ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ, जुन ९८ प्रतिशतको वित्तीय प्रगति हो ।

पर्वतमा कुल ३५ हजारभन्दा बढी घरधुरी रहेका छन् । हालसम्म १८ हजार २०० घरमा धारा जडान भइसकेको र अब करिब १७ हजार घरधुरीमा खानेपानीको पहुँच पुर्‍याउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *