इम्बोस्ड नम्बरप्लेटको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने महासंघको अडान

 

काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बरप्लेट लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । पूर्वाधारको अभाव, यसअघि नै विरोधका कारण स्थगित भएको अवस्था र यसको कार्यान्वयन न्यायोचित नभएको भन्दै महासंघले सरकारलाई उक्त निर्णय पुनःमूल्याङ्कन गर्न आग्रह गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका यातायात कार्यालयहरूमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास र आवश्यक पूर्वाधार तयार नभएको भन्दै तत्काल निर्णय कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरुपमा विरोध भएपछि उक्त कार्य स्थगित भएको थियो । यस्तो अवस्थामा पुनः यसलाई लागू गर्ने निर्णय न्यायोचित छैन ।’

महासंघका अनुसार, हाल इम्बोस्ड नम्बर लगाउन जाने सवारी साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने गरी कागजपत्र नवीकरण गरिरहेका छन् । तर, इम्बोस्ड नम्बरको राजस्व मात्र असुली गर्ने र त्यसका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध नगराउने कार्य न्यायोचित नभएको महासंघको भनाइ छ ।

महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सर्वोच्च अदालतबाट भएको फैसलालाई भने स्वागत गरेको जनाएको छ । यसर्थ, महासंघले तत्काल जारी गरिएको सूचनालाई पुनःमूल्याङ्कन गरी व्यवसायीमैत्री वातावरण बनाउन सरकारसँग जोडदार माग गरेको छ ।