काठमाडौँ महानगरको बजार अनुगमन : बसन्तपुर र इन्द्रचोकमा ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौँ, भदौ १० । काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। यसै क्रममा, सोमवार महानगरको एक संयुक्त टोलीले वडा नं. २३ र २४ अन्तर्गत पर्ने बसन्तपुर र इन्द्रचोक क्षेत्रका रेस्टुरेन्ट तथा मिठाई पसलमा खाद्य स्वच्छता सम्बन्धी अनुगमन गरेको छ।

महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (मोबाइल फुड टेस्टिङ भ्यान) को प्रयोग गरी स्थलगत परीक्षण गरेको थियो। अनुगमनका क्रममा चारवटा रेस्टुरेन्ट र एउटा मिठाई पसलको जाँच गरिएको थियो।

टोलीले रेस्टुरेन्टहरूमा प्रयोग भइरहेको तेलको गुणस्तर ‘टोटल पोलार मेटेरियल’  उपकरणबाट जाँच गर्दा दुईवटा रेस्टुरेन्टको तेल खान अयोग्य पाइएको थियो। मापदण्डविपरीत भेटिएको तेल व्यवसायीकै उपस्थितिमा नष्ट गरिएको छ। जसअनुसार एक रेस्टुरेन्टबाट २२ लिटर र अर्कोबाट ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरियो। अनुगमन गरिएको मिठाई पसलका सबै नमुनाहरू भने मापदण्डअनुरूप नै पाइएको महानगरले जनाएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता, सरसफाइ, र कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, पकाउने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खानेकुरा छुट्टाछुट्टै राख्न र काम गर्दा एप्रोन, हेयरनेट तथा मास्क अनिवार्य लगाउन सचेत गराएको छ।

महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने र खाद्य स्वच्छता कायम गर्न सबै व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेको छ।