टिकटकले चिनाएको जन्तीढुङ्गा: काभ्रेको नयाँ पर्यटकीय गन्तव्य

काठमाडौँ, भदौ १० । बनेपा नगरपालिका–१२, बाँसडोलमा अवस्थित ‘जन्तीढुङ्गा’ पछिल्लो समय सामाजिक सञ्जाल र विशेषगरी टिकटकका कारण लोकप्रिय बन्दै गएको छ। सहरको कोलाहल, धुवाँधुलोबाट टाढा शान्त र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि यो ठाउँ आकर्षक गन्तव्य बनेको छ ।

हरियाली वातावरण, मनमोहक दृश्य र टिकटक बनाउनका लागि उपयुक्त स्थान भएकाले यहाँ आन्तरिक पर्यटक, विशेषगरी युवाहरूको भीड लाग्ने गरेको छ। काठमाडौँमा अध्ययनरत विकास यादवले टिकटकमा भिडियो हेरेरै प्रभावित भई कलेज बिदाको दिन पारेर जन्तीढुङ्गा घुम्न आएको बताए। “भिडियोमा देखेको भन्दा पनि प्रत्यक्ष हेर्दा यो ठाउँ अझै आकर्षक र रमाइलो लाग्यो,” उनले भने ।

बनेपाबाट घुम्न पुगेका अर्का आगन्तुक गणेश तामाङले पनि यहाँको प्राकृतिक हावापानी र सुन्दर दृश्यले मन लोभ्याएको अनुभव सुनाए ।

धार्मिक किंवदन्ती र स्थानीय विकास

जन्तीढुङ्गा प्राकृतिक रूपमा मात्र नभई धार्मिक र सांस्कृतिक महत्वले पनि भरिपूर्ण छ । स्थानीय शम्भु कुँवरका अनुसार, पौराणिक कथामा बेथानचोक नारायणले पञ्चकन्या देवीसँग विवाह गर्ने वाचा पूरा गर्न नसक्दा बेहुलासहित आएका सबै जन्तीहरू ढुङ्गामा परिणत भएको विश्वास गरिन्छ । यही कारण यस ठाउँको नाम ‘जन्तीढुङ्गा’ रहन गएको हो। यहाँ भित्तामा लस्करै मिलेर बसेका ढुङ्गाहरू हेर्नका लागि सिँढीको व्यवस्था गरिएको छ ।

बढ्दो पर्यटकीय आकर्षणसँगै स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढेको छ। आगन्तुकको संख्या बढेपछि स्थानीयहरूले चिया, खाजा पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्न थालेका छन्। पनौतीकी देवीमाया खत्रीले दैनिक १५ सय देखि ५ हजार रुपैयाँसम्मको व्यापार हुने गरेको बताइन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न वडा कार्यालयले जन्तीढुङ्गाको माथिल्लो समथर भागमा बुद्धको प्रतिमा स्थापना गर्ने र त्यहाँसम्म पुग्न सिँढी निर्माण गर्ने योजना बनाएको छ ।

कसरी पुग्ने?

काठमाडौँबाट करिब ३१ किलोमिटरको दुरीमा रहेको सदरमुकाम धुलिखेलबाट यहाँ सजिलै पुग्न सकिन्छ । बनेपाको जनगाल, भैँसेपाटी, बाँसडोल हुँदै बुढागणेश मन्दिरको बाटोबाट करिब नौ किलोमिटरको यात्रापछि जन्तीढुङ्गा पुगिन्छ । साथै, पनौती बसपार्कबाट चामखर हुँदै पनि यो रमणीय स्थलमा पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *