सङ्खुवासभामा सुक्खा पहिरोले घर पुरियो, पाँच लाखको क्षति

काठमाडौँ, भदौ ९ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहा च्यानडाँडामा आज बिहान सुक्खा पहिरो खस्दा एक स्थानीय धर्मगुरुको घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पहिरोमा परी धर्मगुरु दोर्ची लामाको दुईतले घर भत्किएको हो ।

प्रहरी निरीक्षक रामकुमार लामिछानेले दिएको जानकारीअनुसार जस्तापाताले छाएको ढुङ्गामाटोको घर पूर्ण रूपमा नष्ट भएको छ । घटनामा कुनै मानवीय वा पशुचौपायाको क्षति भने भएको छैन । प्रारम्भिक अनुसन्धानमा करिब पाँच लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नोक्सान भएको अनुमान गरिएको छ ।

पीडित परिवारले कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणका क्रममा भएको लापरबाहीका कारण घर जोखिममा परेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सडक निर्माणका लागि एक्स्काभेटरले ढुङ्गा फुटाउँदा जमिनमा चिरा परेको र त्यसैले घरमा प्रत्यक्ष असर पुगेको हो ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा पहिरो पन्छाएर सडक सुचारु गरिएको छ । पुरोहित कर्मकाण्ड गर्दै आएका लामालाई स्थानीय बासिन्दाले नै संयुक्त रूपमा घर निर्माण गरी बसोबासको व्यवस्था मिलाइदिएका थिए ।