रौतहटमा रुबीकुमारी साह सुडी हत्या प्रकरण : अभियुक्त लक्ष्मण पासवान घाइते अवस्थामा पक्राउ

काठमाडौँ, भदौ ११ । रौतहटको गौर नगरपालिका-९, मुडबलवा प्रवेशद्वार नजिकै गत शनिबार राति एउटा सुटकेसभित्र २६ वर्षीया रुबीकुमारी साह सुडीको शव फेला परेको घटनामा संलग्न लक्ष्मण पासवानलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पासवानले रुबीको आफ्नै कोठामा बोलाएर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, पासवानलाई बुधवार बिहान करिब ८ बजे माधवनारायण नगरपालिकाको बिसुनपुरवा–मानपुरतर्फ जाने बाटोमा शरीरमा आगो लगाएको अवस्थामा फेला पारिएको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार, पासवानले आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ ।

गत शनिबार गौर–गंगापिपरा सडक खण्डको पश्चिमपट्टि एउटा सुटकेसमा रुबीको शव भेटिएपछि प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लक्ष्मण पासवानले रुबीको हत्या गरी शवलाई ई-रिक्सामा राखेर उक्त सडक खण्डसम्म पुर्‍याएको खुलेको छ। शव भएको सुटकेस पुर्‍याउने रिक्साचालकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

यस घटनाले रौतहटमा सनसनी फैलाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।