गाउँपालिका र नगरपालिकामा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली अन्त्य: मन्त्री न्यौपाने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका र नगरपालिकामा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणालीको अन्त्य भएको घोषणा गरेकी छन्। बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री न्यौपानेले सुशासनलाई सुदृढ बनाउने र स्थानीय तहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय लिइएको बताएकी छन्।
मन्त्रालयको नेतृत्व सम्हाल्दा ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको अवस्था रहेको बताउँदै मन्त्री न्यौपानेले अब सबै गाउँपालिका र नगरपालिका निमित्त विहीन बनेको स्पष्ट पारेकी छन्।
उनले भनेकी छन्, “सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यही क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु।”
मन्त्री न्यौपानेले जिम्मेवारी पाउने प्रमुख प्रशासकीय अधिकृतहरूलाई बधाई दिँदै दक्षता र इमानदारीका साथ आफ्नो दायित्व पूरा गर्न आग्रह गरेकी छन्। साथै, उनले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई पनि नवआएका अधिकृतलाई स्वागत गर्न र उनीहरूको क्षमताको सदुपयोग गर्न सुझाव दिएकी छन्।
यस अभियानमा खटिएका मन्त्रालयका सचिव, सम्पूर्ण टोली र सचिवालयका सदस्यहरूलाई मन्त्री न्यौपानेले धन्यवादसमेत व्यक्त गरेकी छन्। उनले अबको अर्को चरणमा उपमहानगरपालिका र महानगरपालिकामा पनि निमित्त प्रणाली अन्त्य गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।
“आम जनताको हितलाई केन्द्रमा राखेर यो निर्णय गरिएको हो,” मन्त्री न्यौपानेले लेखेकी छन्, “यस्तो काममा सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु।”
