कोप्रे झरना : गर्मी छल्न म्याग्दीको नयाँ गन्तव्य

काठमाडौँ, भदौ १३ । म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित कोप्रे झरना अहिले गर्मी छल्ने प्रमुख आकर्षण बनेको छ । केही वर्षअघिसम्म गुमनाम रहेको यो झरना पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । बेनी बजारबाट करिब दुई किलोमिटर पश्चिममा म्याग्दी नदी किनार र अग्लो पहाडको फेदीमा रहेको यो झरना विशेषगरी सार्वजनिक बिदाका दिनहरूमा आन्तरिक पर्यटकहरूले भरिभराउ हुने गर्छ ।

बेनीकी प्रिती छन्त्यालले कोप्रे झरनाको शान्त र एकान्त वातावरणमा छङछङ गर्दै झर्ने झरनाको फेदीमा बसेर प्रकृतिसँग रमाइलो अनुभव गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,  “व्यस्त दैनिकी र सहरको कोलाहलबाट टाढा भएर प्रकृतिसँग रमाउँदा आनन्द महसुस भयो, बेनीको उखरमाउलो गर्मी छल्न कोप्रे झरना उपयुक्त सहारा बनेको छ।”

हिउँदमा सानो देखिने यो झरना बर्खायाममा भने निकै विशाल र मनमोहक हुन्छ । करिब १५० मिटर अग्लो यो झरनाको फेदीबाट नजिकैबाट अवलोकन गर्न सकिन्छ । घाम लागेको बेला इन्द्रेणी देखिने यो झरनाले पर्यटकहरूलाई थप आकर्षित गर्छ ।

बेनीका आनन्द पुन पहाडको टुप्पोबाट निरन्तर खसिरहने झरनाको चिसो पानीमा भिज्दा निकै आनन्द महसुस हुने बताउँछन् । धेरै आगन्तुकहरू यहाँ भिडियो र तस्बिरहरू खिचेर टिकटक, रिल्स र स्टोरीहरू बनाउने गर्छन् । बेनी नगरपालिका–२ का स्थानीय नारायणबहादुर कार्कीका अनुसार बर्खायाममा कोप्रे झरनामा दिनभर चहलपहल हुने गर्छ । कार्कीले झरना परिसरमा व्यक्तिगत लगानीमा चौतारी र बोटबिरुवा रोपेका छन् ।

बेनी नगरपालिकाले पनि यस क्षेत्रको विकासमा लगानी गरेको छ । नगरप्रमुख सुरत केसीका अनुसार, नगरपालिकाले आश्रयस्थल, पार्किङस्थल र फलामको बेन्च निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ र चालू आर्थिक वर्षमा थप पूर्वाधार निर्माणका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारमार्फत बेनीको हाडेभिरबाट बगरफाँट हुँदै कोप्रे झरना नजिकैको दूधेखोलाबाट भकिम्ली जोड्ने सडकको स्तरोन्नति भइरहेको छ । नगरप्रमुख केसीले सडक पहुँच सहज बनाएर, थप पूर्वाधार विकास गरी र व्यापक प्रचारप्रसार गरेर कोप्रे झरनालाई बर्खायामको प्रमुख गन्तव्य बनाउन जोड दिएको बताउनुभयो ।