करिब ३० प्रतिशत स्थानीय विवाद मेलमिलापका माध्यमबाट निरुपण हुन्छन्, यो दर बढाउने प्रयासमा छौँ – उपप्रमुख डंगोल

काठमाडौँ, भदौ १३ । काठमाडौँ महानगरपालिकाले स्थानीय विवादमध्ये करिब २३ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण गर्ने गरेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज स्थानीय विवाद निरुपण अध्ययनका लागि आउनुभएका संयुक्त राज्य अमेरिकाको जर्ज मेसन विश्वविद्यालयका प्रा. डा. आर्थर रोमानो र काठमाडौँ विश्वविद्यालयका प्रा. डा. धीरेन्द्र नाल्वोले सहरी विवाद समाधानका लागि महानगरपालिकाले गरेका कामका विषयमा जानकारी दिँदै यस्तो बताउनुभएको हो ।

‘म न्यायिक समितिको नेतृत्वमा आउने बेला करिब ३ प्रतिशत विवाद मेलमिलापका माध्यमबाट समाधान हुने गरेका थिए । ३ वर्षको प्रयत्नले मेलमिलापको संख्यामा उल्लेख वृद्धि भएको हो ।’ न्यायिक निरुपणका अभ्यास र सिकाइ बताउने क्रममा उपप्रमुखले भन्नुभयो, ‘सबै वडामा महिला सञ्जाल गठन, वडास्तरीय मेलमिलाप केन्द्र स्थापना र सञ्चालन, मेलमिलापकर्ताहरुलाई सूचीकरण, मेलमिलापकर्तालाई विवादका पक्षले शुल्क तिर्नु पर्ने शुल्क महानगरपालिका आफैँले तिरिदिने व्यवस्थाका कारण यो सम्भव भएको उल्लेख गर्नुभयो ।’

न्यायमा पहुँच बढाउन वडा स्तरमा न्यायिक सहजकर्तामार्फत निःशुल्क निवेदन, फिराद, प्रतिउत्तर जस्ता कानुनी कागज तयार गरिदिने गरेको, विपन्न भएकै कारण अड्डा अदालतमा न्यायका लागि पहुँच पु¥याउन नसक्नेहरुका लागि वडा कार्यालयको शिफारिसमा महानगरपालिकाले कानुन व्यवसायीको शुल्क तिर्ने लगायतका प्रयासबाट न्यायलाई पहुँच योग्य बनाउने प्रयास गरिएको डंगोलको भनाइ थियो ।

उहाँको कुरा सुनिसकेपछि प्रा. डा. रोमानोले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाको न्यायिक समितिले गरेका यी काम अनुकरणीय छन् । यी कामका विश्वविद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउन सकियो भने उनीहरुले प्रयोगात्मक ज्ञान हासिल गर्ने अवसर पाउनेछन् । यसका लागि आफ्नो विश्वविद्यालय सहकार्यका लागि तयार छ ।’

कुराकानीका क्रममा प्रा. डा. नाल्बोले भन्नुभयो, ‘वास्तवमा तपाईँ पिस मेकर (विवाद समाधानबाट शान्ति निर्माण गर्ने) हुनुहुँदो रहेछ । आफूले प्रयोग गरेको यो अभ्यास अरुलाई अवलोकन गर्न तथा सिक्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा गरेका छौँ ।’

छलफलका क्रममा लैङ्गिक हिंसामा आधारित विवाद मिलाउन महिला सञ्जालले गरेका काम, सञ्जालको संयन्त्रमा सहभागिता र समावेशीकरण, मेलमिलापको प्रक्रिया, प्रमाणीकरण जस्ता विषय उठेका थिए । यी विषयमा प्राध्यापकहरुले, महिलाको नेतृत्वमा सञ्जाल र वडा स्तरीय मेलमिलाप कक्ष सञ्चालन हुनु असल अभ्यास भएको बताउनुभयो ।