वैशाखदेखि हालसम्म ३,२८१ विपद्का घटना: २०७ जनाको निधन, २२ बेपत्ता
काठमाडौँ, १५ भदौ । गत वैशाखदेखि भदौ १४ गतेसम्म नेपालभर कुल ३,२८१ वटा विपद्का घटना भएका छन्। यी घटनामा परी २०७ जनाको निधन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, यस अवधिमा २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते भएका छन्। यसबाट ५,९६३ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् ।
बाढीका दुई सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छभने २२ बेपत्ता र १० घाइते भएका छन् । बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।
यस्तै, दुई सय ६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने सात यस ११ परिवार प्रभावित भएका छन् । कुल दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा परेर एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन् ।
यसैगरी सर्पदंशका दुई सय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । दुई सय दुई जना घाइते हुँदा दुई सय ७२ घरपरिवार प्रभावित भएका छन् । कुल एक सय ५८ वटा वन डढेलोको घटना हुँदा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका दुई सय ८० घटना हुँदा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट पाँच सय ३६ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ । लेक लाग्नुका ४९, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई, असिना र माहामारीका एक–एक घटना घटेका छन् । प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारीसमेत गरेको छ ।