येँःया ११४५

०९ बजेर ५२ मिनेटको साइतमा ‘यसिं’ नगर प्रवेश गराइँदै

काठमाडौँ, भदौ १५ । अहिले ९ बजेर ५२ मिनेटको साइतमा यंसिँ नगर प्रवेश गराइँदैछ । भोटाहिटीमा रहेको यंसिँ बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ । यसरी लगिएको यंसिँ भदौ १९ गते बिहीबार विहान १० बजेर ३२ मिनेटको शुभ साइतमा उत्थान गरिनेछ । यंसिं उठाउनु अघि एकादशिका दिन चस्वाँद्व मानन्धर सनागःगू खलः बा गुथियारले डोरीले यसिं कस्छन् । यसका लागि यसिं उठाउँदा कसिलो हुने उठाइ सकेपछि डोरी खुल्ने गरी बाँध्ने सिप चाहिन्छ । इन्द्रध्वज उत्थान भएपछि जात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोकहुँदै हनुमानढोका कागेश्वर मन्दिर नजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिनेछ । यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग पनि सहभागी हुनेछन् ।

यस वर्ष भाद्र ९ गते विहान १० बजेर ४७ मिनेटको साइत गरेर यःसिं लिन वन प्रस्थान गरेका थिए । त्यसै दिन बेलुका ९ बजेर ३ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बञ्चरो) र वहःपा (चाँदीको बञ्चरो) ले सांकेतिक रुपमा रुखमा घाउ लगाउने चलन छ । यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो ।

वृक्षकर्तनको भोलिपल्ट मानन्धर समुदायका व्यक्तिहरुले यंःसि तानेर भोटाहिटी ल्याएका थिए । यहाँ तँलाछीका मानन्धरहरूले यंःसिको स्वागत गरेका थिए । यसपछिका यःसिंलाई भोटाहिटीमा ढुंगाको मन्दः (मण्डला) को सिरानीमा सुताएर राख्ने गरिएको छ । सडक कालोपत्रे गर्दा हराएको मण्डलालाई अहिले पुनःस्थापना गरिएको छ । यस बेला श्रद्धालुहरु यंःसिको पूजाआजा गर्ने गर्छन् । यसरी राखिएको यंःसि कुल्चेर वा नाघेर जानु हुँदैन ।

भोटाहिटीको यो ठाउँ मल्लकालमा नगरको बाहिरी भाग थियो । नगर प्रवेशका लागि यहाँ एउटा ढोका पनि राखिएको थियो ।

यस वर्ष भदौ २१ गते शनिवार कुमारी रथ यात्रा सुरु हुनेछ । रथ यात्रा सुरु हुनुअघि राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन वसन्तपुरभन्दा तल्लो टोलमा रथ यात्रा हुन्छ । यही दिन साँझमा स्वर्गवास भएका व्यक्तिहरुको चीर शान्ति र मोक्षका लागि दागिं जाने चलन छ । यस दिन मानन्धर समुदायका ६ वटा गुथि मिलेर बौमत निकाल्छन् ।

भदौ २२ गते आइतबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।

भदौ २६ गते बिहीबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् । यसिं ढाल्ने जिम्मेवारी पनि मानन्धरहरुकै हो ।

इन्द्रजात्राका अवसरमा मजिपा लाखे, हलचोक भैरव, पुलुकिसी, देवी, महाकालीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।