विश्व युवा नेताहरुको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन उपप्रमुख जेनेभा प्रस्थान

काठमाडौँ, भदौ १६ । भदौ १७ गते देखि १९ (सेप्टेम्वर २–४) सम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज प्रस्थान गर्नुभएको छ । द फोरम अफ यङ् ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो । फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरु हुनुहुन्छ । यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरुका विच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै यङ् ग्लोबल लिडरहरुका बिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ । सम्मेलनमा भाग लिन जानु अघि डंगोलले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरु जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरु एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश वुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।’

परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताउनुभयो । सम्मेलनमा उहाँका २ वटा प्रस्तुतिकरण हुनेछन् ।

गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुभएको हो । युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रुपमा उहाँलाई चयन गरेको हो ।

यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिनु भएको छ । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र हुनुहुन्छ । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन हुनुभएको हो । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ ।

डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य हुनुहुन्थ्यो ।

विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति हो । यसले विश्वव्यापी सञ्जाल निर्माण, सामुहिक कार्य र नविनताका लागि कृतिम वौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ । युवा नेताहरुले परिवर्तन अंगाल्न सक्नेछन् । प्रगतिलाई तीब्र बनाउन काम गर्नेछन् । अरुलाई प्रेरित गर्नेछन् ।