कर्णाली राजमार्ग अवरुद्ध, स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिए
काठमाडौँ, भदौ १६ । कालीकोटको गगनेखोलामा पहिरो खसेका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गत आइतबारदेखि राजमार्ग बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार, पहिरो गएको स्थान नजिकै रोकिएका ती ट्रकमा करिब १३ करोड रुपैयाँ बराबरको स्याउ रहेको छ । सडक अवरुद्ध हुँदा ढुवानीमा ठूलो समस्या भएको छ ।
अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको छ । सडकमाथिबाट ठूला-ठूला ढुङ्गा खसेकाले सडक खुलाउन समय लागिरहेको बताइएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको जानकारी दिनुभयो। दुई दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुहरू पनि बिचल्लीमा परेको स्थानीयवासी कल्पना बुढाले बताउनुभयो ।
