महाकाली नदीमा बहाव घट्दै, तर दोधरा चाँदनीका बाढी विस्थापित अझै घर फर्किन सकेनन्

काठमाडौँ, भदौ १७ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दाहरू अझै घर फर्कन सकेका छैनन् । बस्तीहरू अझै पनि डुबानमै रहेकाले विस्थापित परिवारहरू विद्यालयहरूमा आश्रय लिएर बस्न बाध्य छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, नदीको बाढी बस्तीमा पस्दा ५४ घर डुबानमा परेका छन् भने २१८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितहरू नजिकका विद्यालयहरूमा बस्दै आएका छन्। नदीको बहाव घट्दो क्रममा रहेकाले अवस्था यही रहेमा साँझसम्म विस्थापित परिवारहरू घर फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ । त्यसैगरी, वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा सारिएको छ ।

वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण कुनै अप्रिय घटना हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ। आज बिहान ७:०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ । तर, सीमा पुल बनवसामा चारपाङ्ग्रे सवारीसाधन भने अझै सञ्चालन हुन सकेका छैनन् । नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरिन्छ। यस वर्ष सोमबार साँझ ५:०० बजे महाकाली नदीमा यस वर्षकै सबैभन्दा बढी २ लाख ७१० क्यूसेक पानीको बहाव पुगेको थियो ।