ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्बान गभर्नेन्स अवार्ड’बाट सम्मानित
काठमाडौँ, भदौ १७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘एक्सिलेन्स अर्बान गभर्नेन्स अवार्ड’बाट सम्मान गरिएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एसियाली मुलुकका विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
महानगरप्रमुख महर्जनलाई आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न पुर्याउनुभएको नेतृत्वदायी योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्नयोग्य र सम्पदामैत्री सहरका रूपमा विकास गर्न उहाँले पुर्याउनुभएको योगदानका लागि यो सम्मान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराउनुभयो । अवार्ड पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदान गर्नुभएको थियो ।
ललितपुर महानगरको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित महर्जन नेपालका ७५३ वटै स्थानीय तहका प्रमुखमध्ये समर्पित, प्रतिबद्ध र इमानदार नेतृत्वका रूपमा स्थापित हुनुभएको छ । उहाँले आधुनिकीकरणसँगै सांस्कृतिक परम्परा र सम्पदालाई सुरक्षित राख्न निरन्तर जोड दिँदै आउनुभएको छ ।
सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मनुभएका महर्जनले बाल्यकालमा पिताको निधनपछि विभिन्न समस्या भोगे पनि सामुदायिक सहयोगमा आफ्नो शिक्षा पूरा गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेपछि सामाजिक सेवामा सक्रिय हुनुभएका उहाँले तत्कालीन ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।
तीनपटक वडाध्यक्ष र दुई कार्यकाल नगरप्रमुखको भूमिका निर्वाह गर्ने अवसर पाउनुभएका महर्जन नेपाली कांग्रेस पार्टीमा आबद्ध रहेर जवाफदेही र जिम्मेवार नागरिक केन्द्रित शासनका पक्षमा काम गर्दै आउनुभएको छ ।
महानगरप्रमुख महर्जनले मुलुकको पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन प्रणाली, बीउ वितरण मेसिन, खानेपानी वितरण मेसिनजस्ता सार्वजनिक सेवामैत्री कार्यक्रमहरू सुरु गरेर दिगोपन र समावेशितालाई व्यवहारमा उतार्नुभएको छ । उहाँले सबै वडामा निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र र पार्क विस्तार, वृक्षारोपण, शुद्ध पानीको सहज पहुँच, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट सांस्कृतिक आदानप्रदान, दिगो विकास र सम्पदा संरक्षणमा साझेदारी बढाउन जोड दिँदै आउनुभएको छ ।
सो कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट बालकृष्ण श्रेष्ठ, ‘आइकोनिक इन्टरपेनरसीप अवार्ड’बाट राजेन्द्र मल्ल, ‘एक्सिलेन्स इन न्युरोसाइन्स एण्ड हेल्थकेयर अवार्ड’बाट डा वसन्त पन्त, ‘विमन इन बिजनेस लिडरसीप अवार्ड’बाट ज्योत्स्ना श्रेष्ठ, ‘बैंकिङ सीईओ अफ दी इयर’बाट मनोज ज्ञवाली, ‘विमन इन इनर्जी एक्सिलेन्स अवार्ड’बाट सुसन कर्माचार्य, ‘भिजिनरी लिडरसीप इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सन्तोष प्रसाईं सम्मानित हुनुभयो ।
त्यसैगरी, ‘अटोमोटिभ बिजनेस एक्सिलेन्स अवार्ड’बाट मिलनबहादुर मल्ल, ‘आउटस्ट्यान्डिङ पब्लिक कम्युनिकेटर अवार्ड’बाट शिवानी थापा बस्न्यात, ‘आउटस्ट्यान्डिङ जर्नालिजम अवार्ड’बाट सुशील अर्याल, ‘विमन टुरिजम इन्टरपेनर अवार्ड’बाट कमला गिरी, ‘आउटस्ट्यान्डिङ पब्लिक सर्भिस अवार्ड’बाट शेरबहादुर बिसी, ‘युथ बिजनेस लिडरसीप अवार्ड’बाट डिल्लीराम पङ्गेनी, ‘म्युजिकल ब्रिलियन्ट अवार्ड’बाट शिव परियार पनि सम्मानित हुनुभएको सिजन मिडियाका अध्यक्ष वन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ‘एक्सिलेन्स इन फाइनान्स सर्भिस एण्ड डिजिटल इनोभेटिभ अवार्ड’बाट खिलेन्द्र पौडेल, ‘एक्सिलेन्स इन हेयर एण्ड ब्यूटीकेयर अवार्ड’बाट लक्ष्मी ठाकुर, ‘हेल्थ एण्ड फिटनेस चेन्जमेकर अवार्ड’बाट सुकदेव कार्की, ‘डिस्टिङ्गिवष्ट पर्फर्मेन्स सिनेमा अवार्ड’बाट केकी अधिकारी, ‘युथ इनोभेटर इन्टरपेनरसीप अवार्ड’बाट मनोज पौडेल, ‘एक्सिलेन्स इन एभिएसन एण्ड हस्पिटालिटी सर्भिस अवार्ड’बाट सेमन्त श्रेष्ठ र ‘साइन्टिफिक पब्लिसिङ एण्ड एडिटोरियल एक्सिलेन्स अवार्ड’बाट सुरेश रिजाल सम्मानित हुनुभएको छ ।
एसियाली देशहरूबाट चीनका चेन्ग हुआङ ‘पायोनियर फोटोग्राफी एण्ड कल्चर हेरिटेज अवार्ड’बाट, कम्बोडियाकी लिआङ बोफा ‘विमन बिजनेस लिडरसीप एक्सिलेन्स अवार्ड’बाट, बङ्गलादेशका मसियुर रहमान सुमोन ‘एक्सिलेन्ट फोटोग्राफी एण्ड हस्पिटालिटी अवार्ड’बाट, बङ्गलादेशकै मोइनउद्दीन अहमद ‘आउटस्ट्यान्डिङ फोटोजर्नलिज्म अवार्ड’बाट सम्मानित हुनुभएको अध्यक्ष वन्तले बताउनुभयो । मलेसियाका मनिमारन एल सुप्पिअह ‘एक्सिलेन्स इन इन्टरनेशनल बिजनेस एण्ड नेटवर्किङ अवार्ड’बाट, भुटानका फुन्ट्शो डेन्डुप ‘एक्सिलेन्स इन हेल्थ एण्ड सेफ्टी लिडरसीप अवार्ड’बाट र थाइल्यान्डकी सुकन्या अर्त्री ‘एक्सिलेन्स इन ग्लोबल डान्स एण्ड इन्टरटेनमेन्ट अवार्ड’बाट सम्मानित हुनुभएको उहाँले उल्लेख गर्नुभयो ।