नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय गरिने
काठमाडाैं, १८ भदाै । नेपाल सरकारले नेपालमा सूचीकरण नभएका फेसबुकलगायतका सामाजिक सञ्जालहरूलाई भोलिदेखि निष्क्रिय पार्ने भएको छ।
मन्त्रिपरिषदले यस सम्बन्धमा निर्णय गरिसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालका अनुसार मन्त्रालयमा थप छलफलपछि भोलिबाट क्रमशः फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय पार्दै लगिनेछ। उनले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुनेमा जोड दिएका छन्।
सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका–२०८० अनुसार सरकारले यो कदम चालेको हो। निर्देशिकाले सामाजिक सञ्जालहरूलाई नेपालभित्र सञ्चालनका लागि दर्ता अनिवार्य गरेको छ।
दर्ता प्रक्रिया पूरा भएपछि निष्क्रिय गरिएका सामाजिक सञ्जालहरू पुनः सक्रिय गर्न सकिनेछ।
मन्त्रालयका अनुसार अहिलेसम्म भाइबर, बिटक, टिकटक, निम्बजलगायत पाँच वटा सामाजिक सञ्जाल नेपालमा सूचीकरण भइसकेका छन्। टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन्। तर, फेसबुक जस्ता प्रमुख सामाजिक सञ्जालले हालसम्म निवेदन दिएका छैनन्।
यस निर्णयले नेपालमा सामाजिक सञ्जालको प्रयोग र नियमनमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।