निर्माण व्यवसायीहरुले तोकिएको अवधिमा काम नगरेपछि जनप्रतिनिधि असन्तुष्ट

काठमाडौँ, भदौ १९ । कैलालीको गोदावरी नगरपालिकामा जनप्रतिनिधिहरू निर्माण व्यवसायीसँग असन्तुष्ट भएका छन् । छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण सम्पन्न नभएपछि वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरूले सडकमै वडा कार्यालय सञ्चालन गरी असन्तुष्टिसँगै व्यवसायीको आचरणको विरोध समेत गरेका छन् ।

नगरप्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार ठेकेदार कम्पनी एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाको चरम लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले सांकेतिक विरोधस्वरूप सडकबाटै कार्यालय सञ्चालन गरिएको बताउनुभयो। उहाँले दुई दिनभित्र सुनुवाइ नभए अत्तरिया चौराहामा विरोधका थप कार्यक्रम गर्ने चेतावनी दिनुभएको छ। यस आन्दोलनमा स्थानीयको पनि साथ रहेको छ ।

प्रदेश गौरवको आयोजनाअन्तर्गतको चौकीडाँडा–फल्टुडे सडकको सेतो पुलदेखि वडा नम्बर १० को कार्यालयसम्मको २,२०० मिटर सडक २०७७ भदौ १८ गते एडभेन्चर थिगिम जेभीलाई ठेक्का दिइएको थियो । उक्त काम २०७८ माघ १७ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो ।

त्यसैगरी, वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेखालसम्मको तीन किलोमिटर कालोपत्रे गर्न २०७९ चैत १८ गते तेडी निर्माण सेवासँग सम्झौता भएको थियो । १८ महिनाभित्र सक्नुपर्ने यो काम पनि अझै अधुरो छ। विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोटा र नगरप्रमुख भट्ट पनि सहभागी  हुनुभएको थियो ।