बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी बढी
काठमाडौँ, भदौ १९ । बागलुङमा यस वर्ष डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामीको सङ्ख्या अत्यधिक देखिएको छ । साउन महिनायता जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुँदा १५८ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेङ्गुभन्दा आठ गुणा बढी स्क्रब टाइफसका बिरामी देखिएका छन् । स्क्रब टाइफसका सबैभन्दा धेरै सङ्क्रमित गलकोट नगरपालिकामा फेला परेका छन् । जहाँ १३५ जनामा यो सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र ढोरपाटन नगरपालिकामा एक जना सङ्क्रमित भेटिएका छन् । अन्य जिल्ला ठेगाना भएका छ जनामा पनि सङ्क्रमण देखिएको छ । कुल १५८ जना सङ्क्रमितमध्ये गलकोट नगर अस्पतालमा १५३ जना, धौलागिरि अस्पतालमा चार जना र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।
गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले अस्पतालमा आउने बिरामीमध्ये दैनिक न्यूनतम पाँच जनासम्ममा स्क्रब टाइफस देखिने गरेको बताउनुभयो । अन्यत्रभन्दा यस क्षेत्रमा बढी परीक्षण गरिएकाले सङ्क्रमितको सङ्ख्या बढी देखिएको उहाँको भनाइ छ । हाल अस्पतालमा सात जना स्क्रब टाइफस र डेङ्गुका बिरामी उपचाररत छन् भने अन्य उपचारपछि घर फर्किसकेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट सर्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सङ्क्रमितलाई उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरमा रातो दाग देखिनेजस्ता लक्षणहरू देखा पर्छन् ।
यसैगरी, चालु आर्थिक वर्षमा बागलुङमा पुष्टि भएका २० जना डेङ्गु सङ्क्रमितमध्ये पनि सबैभन्दा बढी गलकोट नगरपालिकामै नौ जना रहेका छन् । ढोरपाटन नगरपालिकामा चार, ताराखोला गाउँपालिकामा दुई, बागलुङ नगरपालिकामा तीन, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा एक/एक जना डेङ्गु सङ्क्रमित भेटिएका छन् । अन्य पालिकामा भने हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन् । डेङ्गु सङ्क्रमित २० जनामध्ये गलकोट नगर अस्पतालमा ११, बुर्तिबाङ अस्पतालमा पाँच र धौलागिरि अस्पतालमा चार जना उपचारपछि घर फर्केका छन् ।