दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय कार्यान्वयन गर्दै दूरसञ्चार सेवा प्रदायक
काठमाडौँ, भदौ १९ । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पारेका छन् । नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारपछि दर्ता नभएका सामाजिक सञ्जालहरू देशभर बन्द गरेका हुन् ।
नेपाल टेलिकमले एक सूचना जारी गर्दै नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र प्राप्त भएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ । प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त कदम चालेको हो ।
एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको छ । प्राधिकरणले बिहीबार पत्राचार गरी विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। यसमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरू समावेश छन् ।
