लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं,२० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषयमा व्याख्या गर्दै प्रतिवेदन पेश गर्नुभएकाे छ ।

पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक आचरणमा विद्यादेवी भण्डारी लगायतको समूहका नेताहरूले प्रश्न उठाइरहेको भन्दै उहाँले परिस्थिति र आवश्यकताको आधारमा नेतृत्व हस्तान्तरण हुने उल्लेख गर्नुभएकाे हाे ।

विधान महाधिवेशनमा शुक्रबार प्रतिवेदन पेश गर्दै उहाँले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा राख्नुभएकाे छ ।

‘जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतान्त्रिकरणका प्रश्नलाई स्खिसिट्युरी गर्ने र पायक पर्दा छनौटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित हुँदैन। कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन। तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्यौल गरिनुपर्छ’ अध्यक्ष ओलीको प्रस्तावमा छ ।

पार्टी जीवनको लोकतान्त्रिकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढङ्गले जोडिएको विषय भएको उहाँले उल्लेख गर्नुभएकाे छ । ‘लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुऱ्याउने खालको लोकतान्त्रिकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयंभू र स्वायत्त टापुहरू होइनन्’,अध्यक्ष ओलीले भन्नुभएकाे छ ।
’युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ।’

उहाँले पार्टीका सवै प्रयासहरु पार्टीलाई एकताबद्ध बनाउन, जनतामा पार्टीको प्रतिष्ठालाई माथि उठाउन र गन्तव्यमा पुग्न सघाउने खालको हुनुपर्ने धारणा राख्नुभएकाे छ । ‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भने हाम्रो स्पष्ट मान्यता छ’ उहाँले भन्नुभयाे ।