मिर्गौला प्रत्यारोपणमा नेपालमा दुर्लभ सफलता : एकै व्यक्तिमा तेस्रो पटक प्रत्यारोपण
काठमाडौँ, भदौ २१ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालको चिकित्सा इतिहासमा एउटा नयाँ अध्याय थपेको छ । केन्द्रले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरी दुर्लभ उपलब्धि हासिल गरेको हो । यो सफलताले नेपालमा जटिल मिर्गौला प्रत्यारोपण पनि सम्भव छ भन्ने प्रमाणित गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो, “नेपालमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । यो अत्यन्तै जटिल प्रक्रिया भए पनि हाम्रो टोलीको अथक प्रयासले सम्भव भएको हो । यसले मिर्गौला प्रत्यारोपणका लागि विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्नेछ ।”
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण भदौ ९ गते सम्पन्न भएको थियो भने उहाँलाई आज ‘डिस्चार्ज’ गरिएको छ । डा. श्रेष्ठका अनुसार, मिर्गौला प्रत्यारोपण सामान्यतया एकपटक सफल भएपछि लामो समयसम्म काम गर्छ। तर, इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीजस्ता समस्याले मिर्गौला असफल हुन सक्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिए पनि तेस्रोपटकको प्रत्यारोपण भने अत्यन्तै दुर्लभ मानिन्छ ।
डा. श्रेष्ठले थप्नुभयो, “तेस्रो प्रत्यारोपणमा प्राविधिक जटिलता, औषधीय चुनौती र दाता पाउन कठिनाइ हुने हुँदा जोखिम अत्यधिक हुन्छ । संसारमै यस्तो जोखिमपूर्ण प्रत्यारोपण सीमित मात्रामा हुन्छ । बेलायतमा मैले यस्तो प्रत्यारोपणको अनुभव लिएकाले नेपालमा यो सम्भव भएको हो । हामी अब जटिल प्रत्यारोपणका लागि पूर्णरूपमा सक्षम छौँ ।”
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा भएको थियो भने विसं २०७२ मा दोस्रो र अहिले तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा सम्पन्न भएको हो । तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको थियो ।
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मा वीर अस्पतालमा सुरु भएको थियो । तेस्रो प्रत्यारोपणलाई भने केन्द्रले अत्यन्तै दुर्लभ उपलब्धि मानेको छ । स्थापनाको १३ वर्षमा केन्द्रले १ हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ ।
