‘दसैँतिहार, चेलीलाई उपहार’ अभियान : खोटाङमा निःशुल्क यातायात सेवा

काठमाडौ, असोज १२ । खोटाङ जिल्लामा क्रियाशील युवाहरूको एक समूहले यस वर्ष पनि ‘दसैँतिहार, चेलीलाई उपहार अभियान-२०८२’ सञ्चालन गर्ने भएको छ । यो अभियानको मुख्य उद्देश्य कमजोर आर्थिक अवस्था भएका र यातायातको असुविधाका कारण माइतीघर पुग्न समस्यामा परेका चेलीहरूलाई दसैँतिहार मनाउन निःशुल्क यातायात सेवा उपलब्ध गराउनु हो । यसअन्तर्गत, चेलीहरूलाई माइतीघर पुर्‍याउने र पर्वपछि कर्मघर फर्काउने व्यवस्था गरिनेछ ।

अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभएअनुसार, दसैँका लागि यही असोज १६ देखि १९ गतेसम्म र तिहारका लागि आगामी कात्तिक ५ देखि ७ गतेसम्म यो सेवा सञ्चालन गरिनेछ । गत वर्ष पनि दुई चरणमा सञ्चालित यस अभियानबाट ४१५ जना चेलीहरूले निःशुल्क सेवा लिएका थिए ।

संयोजक राईले यो अभियान कुनै स्वार्थबिना विशुद्ध मानवीय सेवाभावले सञ्चालन गरिएको बताउनुभयो । यस वर्षको अभियानका लागि अहिलेसम्म २५ जना युवाले स्वयंसेवकका रूपमा सहभागी हुन नाम दर्ता गराइसकेका छन् भने स्वयंसेवा गर्न इच्छुक युवा थपिने क्रम जारी छ । अभियानका लागि चारपाङ्ग्रे एउटा गाडीको पनि व्यवस्था गरिएको छ ।

सेवा मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म उपलब्ध गराइनेछ । यो जानकारी युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलनमार्फत दिएको हो ।  पत्रकार सम्मेलनमा सरकारी सेवा सुविधा लिइरहेका व्यक्तिहरूलाई भने यस अभियानअन्तर्गतका कुनै पनि सेवा उपलब्ध नहुने स्पष्ट पारिएको थियो ।

यो अभियान विशेषगरी चेलीहरूका लागि भए पनि आवश्यकता र सहमतिका आधारमा पुरुषहरूलाई पनि सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । महिला, बालबालिका, वृद्धावस्थाका व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने संयोजक राईले बताउनुभयो । सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलो तौलसम्मका झोला तथा कोसेली बोक्न पाउने सर्त राखिएको छ।  जिल्लाका अधिकांश सडक कच्ची भएकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यो तौल निर्धारण गरिएको संयोजक राईले जानकारी दिनुभयो ।

दसैँ र तिहार गरी दुई चरणमा सञ्चालन गरिने यस अभियानमा स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहीले सहयोग गर्न सक्नेछन् । स्वयंसेवक बन्न चाहने युवाहरूसँग अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने संयोजक राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको छ । अभियानको सहसंयोजकमा मौषम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी बिमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहनुभएको छ ।

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको छ । गत वर्षको अभियानमा शुभम् फाउण्डेसनले सेवा दिने मोटरसाइकल चालकहरूलाई निःशुल्क खाना तथा खाजाको व्यवस्था गराएको थियो । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापालगायतका व्यक्ति तथा संस्थाहरूले गत वर्ष आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।