घमी खोलामा ‘डाइभर्सन’ नहुँदा सिनो हाइड्रोका १८ ट्रली भन्सारमै रोकिए

काठमाडौँ, असोज १७ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक ‘डाइभर्सन’ निर्माण नहुँदा चीनबाट आयात गरिएका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली मुस्ताङ भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक ‘डाइभर्सन’ नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रलीहरू मंगलबारदेखि भन्सार कार्यालय न्हेचुङमै रोकिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभएअनुसार, कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुस्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएका छन् । उहाँले दशैं पछि व्यवसायी र आयोजना मिलेर ‘डाइभर्सन’ निर्माण गरी समस्या समाधान गरिने बताउनुभयो । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक ‘डाइभर्सन’ नहुँदा समस्या आएको हो । उहाँले व्यापारीसँग समन्वय गरी ‘डाइभर्सन’ निर्माण गर्न पहल भइरहेको बताउनुभयो ।

घमी खोलामा निर्माणाधीन पुल सात वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ मा रु छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जाना समेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *