हराएकी बालिकाको हत्या भएको पुष्टि : शव गाडिएको अवस्थामा फेला

काठमाडौँ, असोज २१ । गेरुवा गाउँपालिका-५, झबही गाउँकी १० वर्षीया एन्जल भनिने भारती देउवाको शव गुडीखोलाको किनारामा गाडिएको अवस्थामा फेला परेको छ । घरबाट करिब २ किलोमिटर उत्तरमा खोजी गर्ने क्रममा सोमबार दिउँसो उनको शव फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । एन्जल असोज १७ गते दिउँसो गणेशपुरस्थित आफन्तको घरमा बिहेमा सहभागी हुन गएकी थिइन् । त्यहाँ पुगेपछि जिन्स कपडा लगाएकाले कपडा फेर्न घर फर्कने भन्दै साइकलमा हिँडेकी उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । साँझसम्म घर नफर्किएपछि एन्जलका बुवा प्रकाश देउवाले राति सवा ९ बजे प्रहरीलाई खबर गरेका थिए ।

डिएसपी बोहराका अनुसार, खोजी अभियानका क्रममा असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका-५, मुलपानी गुडीखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल फेला परेको थियो । स्थानीय र प्रहरीले मुलपानी क्षेत्रको एउटा इन्टेकको पानी सुकाएपछि एन्जलको पहेँलो रङको साइकल भेटिएको थियो । त्यसपछि, आसपासको झाडी सफा गर्दा उनको चप्पल पनि फेला परेको थियो ।

थप खोज र अनुसन्धानकै क्रममा असोज २० गते पौने ४ बजेतिर गुडीखोलाको किनारामा जमिनको सतहभन्दा केही मुनि गाडिएको अवस्थामा एन्जलको घोप्टो परेको शव फेला परेको हो । डिएसपी बोहराका अनुसार, गाडिएको स्थानमा चिरा परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई सोमबार नै पोस्टमर्टमका लागि बर्दिया जिल्ला अस्पताल पुर्‍याएको थियो । मङ्गलबार शवलाई थप परीक्षणका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ, जहाँ फरेन्सिक विज्ञ डाक्टर रहेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *